सूचना प्रविधिको विकाससँगै प्रयोगकर्ताको सुविधाका लागि विभिन्न ग्याजेट आएका छन्। तर, प्रयोगकर्ताको टाउको दुखाउने कारण पनि उत्तिकै छन्। कम्प्युटर, ल्यापटप, स्मार्टफोन जस्ता ग्याजेट प्रयोगकर्ताको टाउको दुखाउने एउटा प्रमुख कारण भाइरस हो।
सूचना प्रविधिमा जहाँ समस्या हुन्छ, त्यहाँ विकासकर्ताले समाधान पनि निकाल्ने गरेका छन्। भाइरसले टाउको दुखाएमा वा दुखाउनुअघि समाधान गर्न एन्टिभाइरस आविष्कार भएको छ। नेपाली बजारमा पनि एन्टिभाइरसको व्यापार पछिल्लो पाँच वर्षमा निकै बढेको व्यवसायी बताउँछन्।
बानेश्वर बस्ने रेश्मा मानन्धरले ल्यापटपमा अभास्ट एन्टिभाइरस हालेकी छिन्। एन्टिभाइरस नहाल्दा ल्यापटपमा आउने समस्या हालेपछि हटेको उनले बताइन्। 'कहिले कहिले नोटिफिकेसन भने आउँछ,' रेश्मा थप्छिन्। एन्टिभाइरस भएपछि ढुक्कले कम्प्युटर चलाउन सकिएको उनी बताउँछिन्।
कम्प्युटरलाई विभिन्न प्रकारका भाइरसले असर गर्न सक्ने भएकाले यसको कारणले प्रोग्राम बन्द हुने, डाटा चोरिने लगायत समस्या आउने काठमाडौं विश्वविद्यालयका आइटी अनुसन्धाता इन्जिनियर चन्दन गुप्ता बताउँछन्। ह्याकर भाइरस, किल ओभर भाइरस र सिस्टम बिगारिदिने भाइरस गरी तीन प्रकारका भाइरसले कम्प्युटरलाई समस्या दिने र एन्टिभाइरसले तिनलाई पत्ता लगाएर निष्त्रि्कय बनाइदिने उनी बताउँछन्। 'एन्टिभाइरससँगै नयाँनयाँ भाइरस पनि निर्माण हुन्छन्। त्यो प्रविधिलाई चुनौती दिन भाइरस पनि त्यही अनुसार निर्माण हुन्छन्,' उनी भन्छन्। नयाँनयाँ भाइरस आउने भएकाले त्यस्ता भाइरसलाई निष्त्रि्कय पार्न बेलाबेलामा एन्टिभाइरस पनि अपडेट गरिरहनुपर्ने गुप्ता बताउँछन्।
इन्टरनेट चलाउने कम्प्युटरमा भाइरस आक्रमण रोक्न एउटा भित्तो अर्थात फायरवाल हुन्छ। यसले बाहिर र भित्र आउने–जाने कुरा सुरक्षित छ कि छैन जाँच गर्ने र विश्वसनीय फाइलमात्र लिने गर्छ। कम्प्युटरका लागि हानिकारक सामग्री यसले लिँदैन। एन्टिभाइरस सफ्टवेयर सुरक्षा र फायरवाल वेब सुरक्षा भएको गुप्ता बताउँछन्। विन्डोज अपरेटिङ सिस्टममा भाइरसले धेरै असर गरेको तर लिनक्स र म्याकको लागि भाइरस बने पनि प्रभावकारी हुन नसकेको उनी बताउँछन्। 'म्याक र लिनक्सको सिस्टम नै भाइरस लाग्न गाह्रो हुने गरी बनाइएको हुन्छ। प्रयोगकर्ताको अनुमतिबिना असर गर्दै सक्दैन,' गुप्ता भन्छन्। लिनक्स, म्याक अपरेटिङ सिस्टम, उबुन्टु डेबियनमा अनुमति नियन्त्रण प्रयोगकर्ताको हातमा हुने भएकाले भाइरसले असर गर्न नसक्ने उनी बताउँछन्।
विश्वमा दैनिक तीन लाख १५ हजार किसिमका नयाँ भाइरस देखा परिरहेको अवस्थामा इन्टरनेट प्रयोगकर्ताका लागि व्यक्तिगत डाटा, गोप्यता पहिचान, अनलाइन कारोबार र सामाजिक सञ्जाल सुरक्षित राख्न यो नयाँ इन्टरनेट सेक्युरिटीले मद्दत गर्ने प्रविधिका ज्ञाता बताउँछन्। एन्टिभाइरस र इन्टरनेट सेक्युरिटीले नेपाली बजारमा देखिएका चुनौती सामना गर्न सक्ने गुप्ताको विश्वास छ। नेपालमा अहिले अनलाइन प्रयोगकर्ताको पहिचानसम्बन्धी युजरनेम, पासवर्ड, क्रेडिट कार्ड विवरण लगायत व्यक्तिगत डाटा चोरीका लागि बनाइने नक्कली वेवपेज (फिसिङ वेबसाइटं हरुले कम्प्युटरसहित मोबाइल अपरेटिङ सिस्टममा पनि आक्रमण गरेकोले यो चुनौती बनेको उनले बताए।
पाँच वर्षयता नेपालमा एन्टिभाइरसको प्रयोग निकै बढेको क्यास्परस्की एन्टिभाइरसको अधिकृत बिक्रेता सागर ग्रुपका बासुदेव लाखे बताउँछन्। नेपालमा पहिलेपहिले एन्टिभाइरस किनेर चलाउने चलन थिएन। अहिले सूचना प्रविधिको शिक्षामा विद्यार्थीको आकर्षणका कारण उपभोक्ता सचेत भइसकेको उनी बताउँछन्। 'पहिले पहिले इन्टरनेटबाट निःशुल्क डाउनलोड गर्न पाइन्छ भनेर मान्छेले किन्दैनथे। अहिले किनेरै प्रयोग गर्ने प्रयोगकर्ता धेरै बढेका छन्,' उनी थप्छन्। अहिले नेपालमा दुई दर्जनभन्दा धेरै एन्टिभाइरसका १८–२० ओटा कम्पनी रहेको उनी बताउँछन्। 'हामीले बेच्ने एन्टिभाइरस प्रयोगकर्ता एक लाख नाघिसकेको छ,' उनी भन्छन्। सागर ग्रुपले नेपालमा २००८ देखि क्यास्परस्की बेच्दै आएको छ। नेपालको एन्टिभाइरस बजारको आधा हिस्सा आफ्नो रहेको सागर ग्रुपको दाबी छ।
अहिले एन्टिभाइरस सेक्युरिटी सफ्टवेयर सामान्यतः इन्टरनेटमा आधारित भएर चलाउने गरेको लाखे बताउँछन्। 'विश्वमा अहिले दैनिक तीन लाख १५ हजार भाइरस, मालवेयरहरु आउँछन्। नेपालका प्रयोगकर्ताले एन्टिभाइरस नहाली चलायो भने नयाँ ल्यापटप अथवा कम्प्युटर पुरै इनफेक्टेड हुन्छ,' उनी भन्छन्। इन्टरनेटबाट सफ्टवेयर डाउनलोड गर्न सकिने भए पनि ती ट्रायल संस्करण भएकाले पूर्ण सुरक्षा नहुने उनी बताउँछन्। 'पाइरेसी गरेर चलाउँदा एक्टिभेसन कोड माग्छ। इन्स्टल गर्दैमा इन्टरनेट अपडेट गर्न छोड्दा त्यो मान्य हुँदैन,' लाखे भन्छन्। अहिले बजारमा पाँच सय रुपैयाँमा एन्टिभाइरस पाइने भएकाले किनरै एन्टिभाइरस प्रयोग गर्न उनी सल्लाह दिन्छन्। क्यास्परस्कीले एकजनाले मात्र प्रयोग गर्ने एक हजार रुपैयाँ पर्ने एन्टिभाइरस, तीनजनाले प्रयोग गर्न मिल्ने एक हजार चार सय रुपैयाँ पर्ने एन्टिभाइरस र क्यास्परस्की इन्टरनेट सेक्युरिटी बेचिरहेको छ। यी सबैको म्याद एक वर्षको हुन्छ। त्यस्तै, हालैमात्र कम्पनीले मल्टी डिभाइस सेक्युरिटी सार्वजनिक गरेको छ। यो सेक्युरिटी सिस्टम ल्यापटप, डेस्कटप, म्याक र एन्ड्रोइड स्मार्ट फोनमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
पछिल्लो समयमा एन्टिभाइरसको बजार र प्रयोगकर्ता बढिरहेको इस्क्यान एन्टिभाइरसको आधिकारिक बिक्रेता फिनिक्स ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राहुललाल श्रेष्ठ बताउँछन्। 'कम्प्युटरका महत्वपूर्ण डाटा चोरी र नोक्सान हुनबाट जोगिन एन्टिभाइरस खरीद गरेरै प्रयोग गर्नु जरुरी छ,' उनी भन्छन्। किनेको एन्टिभाइरसमा पाइने विशेषता डाउनलोड गरेकोमा नपाइने र गोपनीयता नियन्त्रण पनि नहुने श्रेष्ठ बताउँछन्। फिनिक्स क्यान सफ्टटेक २०१४ मा इस्क्यान युनिभर्सल सेक्युरिटी सुट, इस्क्यान एन्टिभाइरस र इस्क्यान इन्टरनेट सेक्युरिटीलगायत उत्पादन सार्वजनिक गर्ने तयारीमा छ। दुईजनाले प्रयोग गर्न सकिने युनिभर्सल सेक्युरिटी सुटको अधिकतम खुद्रा मूल्य एक हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ।