मागप्रति ध्यानाकर्षण गराउन क्यानद्वारा सरकारी कार्यालयलाई दोब्बर सुविधा

काठमाडाैं,मंसिर १४ –  कप्यूटर एशोसिएशन अफ नेपाल (क्यान) ले महासंघको रुपमा दर्ता गर्न पठाएको फाइल अडकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
क्यानले आइतबार एक विज्ञप्ती जारी गर्दै राष्ट्रिय निर्देशन ऐन २०१८ बमाजिम दर्ताको लागि झण्डै एक बर्ष पहिले जिल्ला प्रशासन कार्यालय काठमाडाैंमा आवश्यक कागज पत्रसहित निवदन दर्ता गराएपनि त्यो फाइल अहिले गृह मन्त्रालयमा अड्किएको भन्दै ध्यानाकर्षण गराएको हो ।
महासंघ दर्ताको लागि दिएको निवेदनको कुनै प्रतिक्रिया नआएकोमा आपत्ती जनाउँदै क्यानले विरोध स्वरुप सरकारी कार्यालय र कर्मचारीलाई विभिन्न सुविधाहरु दिने पनि जनाएको छ । ईन्टरनेट सेवा प्रदायक संघसँग आबद्ध भई ईन्टरनेट प्रयोग गर्ने शैक्षिक संस्थाहरुमा मंसिर १५ गते तथा सरकारी निकायका कार्यलयहरुमा मंसिर २० गते, आफूले लिएको साविकको ब्यान्डविथ भन्दा दोब्बर  ब्यान्डविथ उपलब्ध  गराउने क्यानले जनाएको छ । 
त्यस्तै मंसिर महिनामा ध्यानाकर्षण कार्यक्रम स्वरुप नेपाल सरकारमा कार्यरत सम्बन्धित निकायका कर्मचारी तथा व्यक्तिहरुलाई निःशुुल्क १ बर्षसम्म मान्य रहने एन्टिभाइरस सफ्टवेर सिडि उपलब्ध गराउने भएको छ । त्यस्तै क्यानसंग आवद्ध ४९ जिल्ला संघ, ८ अञ्चल संघ, ७ वस्तुगत सदस्य र २ अन्तर्राष्ट्रिय संघ सहित आइसिटीमा आबद्ध संस्थाहरुको महासंघ दर्ताका लागि लिखित अनुरोध पत्रसहित क्यान कार्यसमितिले गृह मन्त्रालयमा रहेको दर्ता फाइलमा दर्ता गराउने प्रयास गर्ने पनि क्यानको विज्ञप्तीमा उल्लेख छ । 
क्यान जस्तै अन्य संस्थाहरु राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तर्गत महासंघमा दर्ता भएको भन्दै  क्यानले आफू दर्ता हुुन नसक्नुुका कारणबारे सरकारसँग जवाफ मागेको छ । क्यान महासंघको रुपमा दर्ता भएमा देशभर ईन्टरनेट पुर्‍याउन सजिलो हुने र कामलाई अझ प्रभावकारी ढंगले अगाडी बढान सहयोग पुग्ने पनि विज्ञप्तीमा उल्लेख छ ।  आफ्नो आन्दोलनमा बन्द, हडताल र तोडफोडका कार्यक्रम नभएको भन्दै क्यानले सजिलो बाटोबाट माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराएको दावी गरेको छ ।  
क्यानको एक मात्र माग  क्यानलाई महासंघको रुपमा दर्ता गर्नुपर्ने रहेको जानकारी पनि  क्यानले दिएको छ । क्यानको मिति २०७० साउन ५ र १२ मा सम्पन्न विषेश साधारण सभा तथा मिति २०७० मंसिर १५ र माघमा सम्पन्न साधारण सभाका बैठकले क्यान महासंघ दर्ता गर्ने निर्णय गरेको थियो ।